नेपाली कफी

कफी एक नरम पेय पदार्थ हो ।विश्वमा कफीलाई चिया पछिको दोश्रो प्रख्यात पेय पदार्थको रूपमा लिइन्छ ।कफीमा स्फूर्ति ल्याउने क्याफिन (caffeine) हुन्छ । यसले मानसिक र शारीरिक थकान मेट्छ, अल्छीपन र निद्रा हटाउँछ । यसमा कार्बोहाइड्रेट, प्रोटीन, अम्ल (क्लोरोजेनिक एसिड), बास्ना (भोलाटाइल कम्पाउण्ड) र अन्य रसायन (कार्बोक्सिलिक एसिड) पाइन्छ ।

विश्वमा १ सयभन्दा बढी मुलुकले कफी उत्पादन गर्छन् र यीमध्ये ५० जति देश मुख्य कफी उत्पादक देशमा गनिन्छन् ।नेपालमा उच्च गुणस्तरको कफी उत्पादन गर्ने शीतल र मन्द हावा चल्ने जलवायु छ । पानी नजम्ने भिरालो परेको हराभरा पहाडी भू-भाग प्रशस्त छ । सिंचाई र प्रशोधनको निम्ति आवश्यक पर्ने पानीको स्रोत पनि छ ।तसर्थ, नेपालमा कफी खेतीको प्रचुर सम्भावना छ ।

नेपालमा पाइने सबै कफी १ हजारदेखि १ हजार ६सय मिटरसम्मको उचाइमा उत्पादित अराविका वर्णको टिपिका र बर्बन जातका हुन् ।प्राय सबै ठाउँमा हातैले टिपेका कफीहरू हाते वा लघु पल्पिङ मेसिनमा प्रशोधन गरिन्छ ।

अन्य कफी उत्पादक मुलुकहरूको भन्दा भिन्न प्रकारको हावापानी भएकाले नेपाली कफीमा विशिष्ट प्रकारको गुण र बास्ना रहेको कफी पारखीहरू बताउँछन् ।साथै, नेपालका प्राय सबै कफी प्राङ्गारिक प्रविधिबाट उत्पादित भएकाले नेपाली कफीलाई अन्तर्राष्ट्रिय बजारमा स्पेसियालिटी कफीको रूपमा हेर्ने गरिन्छ । नेपाली कफी खासगरि जापान, अमेरिका र युरोपेली मुलुकहरूमा निर्यात हुने गर्छ ।

Image